आज घटस्थापना
TPK संवाददाता
- today2025-09-22 07:39:17
६ असोज, काठमाडौं । नेपालीहरूको महान पर्व बडादशैं आजदेखि सुरु भएको छ । पहिलो दिनलाई घटस्थापना भनिन्छ ।
आज घर–घरमा वैदिक विधिअनुसार दियो, कलश र गणेश स्थापना गरी पूजा कोठामा जौ छरेर जमरा राखिएको छ । दुर्गा देवीलाई प्रिय मानिने जौको अंकुर विजया दशमीका दिन टीका–प्रसादसहित ग्रहण गरिने परम्परा छ ।
घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । यस अवधिमा दुर्गाका नौ रुपहरूको पूजा आराधना गरिन्छ । सातौँ दिन फूलपाती भित्राइन्छ भने महाअष्टमी र महानवमीका दिन विशेष बलिपूजा गर्ने प्रचलन छ ।
नवरात्रभर देवी मन्दिर र शक्तिपीठमा भक्तजनहरूको भीड लाग्छ । दशैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ ।